विराटनगर । मोरङको बुढीगंगा–५ का बेचन पण्डितका आँखा अचेल गाउँका भित्तामा टाँसिएका रङ्गीचङ्गी चुनावी पोस्टरमा भन्दा बढी आफ्नै मोबाइलको स्क्रिनमा अडिन्छन्। गाउँमा चुनाव लागेको छ, उम्मेदवारहरू हात जोड्दै दैलोमा आइपुग्छन्। तर, बेचनलाई ती उम्मेदवारका कुराले भन्दा बढी सात समुद्र पारिबाट आउने छोराछोरीको फोनले तान्छ। पहिले–पहिलेका चुनावमा बेचन आफैँ निर्णय गर्थे। गाउँका ठालु वा टाठाबाठाले जे भन्थे, त्यही आधारमा भोट खसाल्थे। छोराछोरीले कहिल्यै ‘फलानोलाई भोट हाल्नु’ भनेर अह्राउँदैनथे। तर, यसपालि समय बदलिएको छ। समयसँगै बेचनको ‘भोटिङ कमान्डर’ पनि बदलिएका छन्। 

‘अहिले त छोराछोरीले उतैबाट आदेश गर्न थालेका छन्’, केही दिनअघि मोरङको ग्रामथानमा भेटिएका बेचनले भने, ‘मेरा कसैले भोट मागेर पनि केहि हुँदैन। छोराछोरीले यसपालि अस्ति नै चोट हाल्नेको टुगो लगाइदिएका छन्।’ कमाउने उनीहरू भएकाले उनीहरूले भनेको मानिदिनु बाध्यता रहेको बताए। 

बेचन पण्डित एउटा प्रतिनिधि पात्र मात्र हुन्। अहिले नेपालका गाउँ–गाउँमा बेचनजस्तै हजारौँ बुवाआमाहरू ‘डिजिटल कमान्ड’को प्रतिक्षामा छन्। नेपालमा भोट माग्ने शैली बदलिएको छ। उम्मेदवारहरू मतदाताको घरमा पुग्नुअघि नै विदेशमा रहेका उनीहरूका सन्तानले ‘इमो’ वा ‘मेसेन्जर’बाट कसलाई भोट हाल्ने भन्ने निर्णय सुनाइसकेका हुन्छन्।

नेपालको राजनीतिमा यसपटक एउटा अनौठो ट्रेन्ड देखिएको छ— चुनाव नेपालमा, तर चुनावी माहोल बनाउने ‘इन्जिन’ भने विदेशमा। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसलाई ठुलो हतियार बनाएको छ। विदेशमा रहेका नेपाली युवाहरू जो परिवर्तनको हुटहुटीले छट्पटिएका छन्, उनीहरूले आफ्ना वृद्ध बाबुआमालाई फोन गरेर पुरानो दल त्याग्न दबाब दिइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पाटीका बरिष्ठ नेता  बालेन शाहका चुनावी कमाण्डर समेत रहेका सशस्त्र प्रहरीका पूर्व एसपी भरत थापा यसलाई रणनीतिक रूपमा प्रयोग गरिएको स्वीकार्छन्। उनी भन्छन्, ‘हामीले विदेशमा बस्ने युवाहरूलाई सम्पर्क गरेर घरमा फोन गर्न र सम्झाइदिन आग्रह गर्ने गरेका छौँ। छोराछोरीले भनेको कुरा बाबुआमाले खासै काट्दैनन्। त्यसैले उनीहरूलाई फकाउने काम प्रभावकारी भइरहेको छ।’

रास्वपाका एक नेताका अनुसार खाडी मुलुकमा श्रम गरिरहेका युवाहरूलाई त अझ भावनात्मक दबाबसम्म दिन लगाइन्छ । कतिपयले त घरमा फोन गरेर भन्छन् —यदि यसपालि पनि पुरानैलाई भोट हाल्यौ भने हामी पैसा पठाउँदैनौँ । यस पटक रेमिट्यान्सको माध्यमबाट भोट बदल्ने रणनितिमा नयाँ दलहरु रहेका छन् भने पुरानादलहरु त्यसलाई रोक्ने रणनितिमा छन् । 

नयाँ दलहरूले प्रविधि र प्रवासलाई प्रयोग गरेपछि पुराना दलहरू पनि रक्षात्मक बनेका छन् । नेकपा एमाले जस्ता ठुला दलहरूले पनि अहिले ‘प्रवास कमान्ड’ सुरु गरेका छन्। झापा क्षेत्र नम्बर २ मा निवर्तमान सभामुख देवराज घिमिरेलाई जिताउन एमालेले पनि त्यस्तै जुक्ति निकालेको छ । 

चुनावी परिचालन कमिटीका संयोजक तथा कोशी प्रदेशका पूर्व मन्त्री एकराज कार्की भन्छन्, ‘हामीले हाम्रो क्षेत्रबाट विदेश गएका नेपालीहरूको नामावली र फोन नम्बर संकलन गरिरहेका छौँ। उनीहरूलाई पार्टीको एजेन्डा बुझाउने र उनीहरूमार्फत घरका सदस्यलाई भोट माग्न लगाउने काम भइरहेको छ ।’ नेपालको कुल गार्हस्थ्य उत्पादनमा ठुलो हिस्सा ओगट्ने रेमिट्यान्सले अहिले नेपालको राजनीतिलाई पनि प्रभाव पार्न थालेको छ। घर चलाउने खर्च विदेशबाट आउने भएपछि घरको निर्णय गर्ने अधिकार पनि बिस्तारै बाबुआमाबाट छोराछोरीमा सरेको छ। 

सामाजिक सञ्जालमा समेत विदेशमा बस्नेहरू नै बढी सक्रिय छन्। उनीहरूले टिकटक, फेसबुक र युट्युबमार्फत बनाउने माहोलले गाउँका मतदातालाई प्रभावित पारिरहेको छ । पहिला गाउँका चोक र चिया पसलमा हुने राजनीतिक बहस अहिले डिजिटल ग्रुपहरूमा सरेको छ। नेपालमा चुनाव हुँदा उम्मेदवारले मतदाता फकाउनु त सामान्य नै हो, तर यसपटक मतदाता होइन,‘मतदाताका सन्तान’ फकाउने होड चलेको छ। बेचन पण्डितले भनेजस्तै, ‘कमाउनेले भनेको मान्नैपर्ने’ बाध्यता वा मायाले गर्दा यसपटकको मतपेटिकामा खस्ने धेरै भोटहरूको ‘रिमोट कन्ट्रोल’ विदेशमा छ। 

नेपालको सत्ताको साँचो सिंहदरबारमा मात्र छैन, यसको एउटा बलियो कडी वैदेशिक रोजगारीमा रहेका ती लाखौँ युवाहरूको हातमा पुगेको छ।