नेपाल-भारत सीमा जोगबनी नाकाबाट प्रवेशमा कडाइ गरिएको छ। भारतबाट जोगवनी हुँदै नेपाल प्रवेश गर्ने हरेक व्यक्तिका लागि आजबाट परिचयपत्र जाँच अनिवार्य गरिएको हो।

सीमा सुरक्षा बलियो बनाउन नेपाल प्रवेश गर्ने विश्वासिलो आधार पेश गर्नुपर्ने व्यवस्थालाई कडाइ साथ लागू गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

नाकामा सशस्त्र र जनपद प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षा जाँचका लागि दुईवटा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ।

भारत हुँदै रोहिंग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा निगरानी बढाइएको प्रशासनले जनाएको छ। पश्चिम बंगालमा हालै भएको निर्वाचनपछि रोहिंग्या नेपाल भित्रिन सक्ने अनुमान गरिएको छ। भारतको पश्चिम बंगालस्थित मालदह क्षेत्रमा रोहिंग्या समुदायको बाक्लो बसोबास छ।