नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय सदस्यहरूको मनोनयनले पार्टीको वृहत्तर एकतामा ठेस पुगेको बताएका छन्।

सभापति गगन थापाबाट भएको मनोनयनबारे आन्तरिक छलफलपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गरेका हुन्।

‘हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको वृहत्तर एकतामा ठेस पुगेको छ,’ नेता कोइरालाले लेखेका छन्।

कांग्रेसको १४औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औं महाधिवेशन एकता महाधिवेशनका रूपमा सम्पन्न गरिनुपर्ने उनको भनाइ छ।

‘कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ,’ नेता कोइरालाले भनेका छन्। विशेष महाधिवेशनमा सहभागी नभएका १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित भएपछि कोइरालाले आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका थिए।

कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा १४औं महाधिवेशनबाट निर्वाचित उनीनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी थिए।

छलफलमा सहभागी स्रोतले बैठकमा केन्द्रीय सदस्यमा मनोनित नेताहरू जीवन परियार, डा. गोविन्दराज पोखरेल, दिनेश कोइराला र उर्मिला थपलिया पनि सहभागी थिए।

स्रोतका अनुसार उनीहरूले केन्द्रीय सदस्यमा मनोनयनबारे आफूहरूसँग सरसल्लाह नै नगरेको नेता कोइरालालाई बताएको स्रोतको दाबी छ।

सभापति थापाले मनोनयन गरेका १९ जनामा सात जना कोइराला समूहका नेताहरू रहेका छन्।