गतवर्ष भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा आगजनी गरी ध्वस्त पारिएको झापाको दमकस्थित भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले एक विज्ञप्तिमार्फत् भोलिदेखि सञ्चालनमा आउन लागेको जानकारी गराएका छन्।
गतवर्ष भदौ २४ गतेका दिन भाटभटेनीका कम्तिमा पनि १२ वटा स्टोरमा आगजनी गरेर पूर्ण ध्वस्त पारिएको थियो। भाटभटेनीले हेटौंडाबाहेक सबै स्टोरहरु पुनः सञ्चालनमा ल्याइसकेको छ।
गुरुङले जारी गरेको विज्ञप्तिमा भनेका छन्– यति ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यवसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता गरेन। भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा हामीले असर पर्न दिएनौँ। कर्मचारीलाई रोजगारीबाट अलग गरेनौँ।”
उनले पूर्णरुपमा आगजनी भएका स्टोरहरुको पुनःनिर्माण स्वाभाविकरुपमा ठूलो समय, स्रोत तथा लगानी आवश्यक पर्ने प्रक्रिया भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुनः सेवा उपलब्ध गराउन सफल भएको बताएका छन्।
गुरुङले दुःखमा साथ दिने सम्पूर्ण सहयोगी हातहरु, चौबीसैघण्टा खटेर पुनःनिर्माणको काममा साथ दिने कर्मचारीवर्ग, स्टोर पुनःसञ्चालनको पर्खाइमा बस्नुभएका भगवान् रुपी ग्राहकहरुप्रति हामी नमन गर्न चाहेको बताएका छन्।












