झापामा माछा पालन गर्दै आएका एक व्यक्तिमाथि आक्रमण भएको छ।

अर्जुनधारा नगरपालिका-१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो।

अर्जुनधारा नगरपालिका-१ कै ३५ वर्षीय कृष्ण भनिने सन्तोष एक्तेनले टंकबहादुरमाथि छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। टंकबहादुरको अहिले बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।

अर्जुनधारा-६ मा रहेको माछापोखरीको डिलमा बनाइएको छाप्रोमा सुतिरहेको बेला अचानक टंकबहादुरमाथि सन्तोषले आक्रमण गरेका हुन्।

टंकबहादुरको दुबै खुट्टा तथा शरीरका विभिन्न भागमा छुरा प्रहार भएको प्रहरीले जनाएको छ। 

सन्तोष टंकबहादुरका भतिजा हुन्। पीडितकी छोरी सलिनाले सन्तोषविरूद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएकी छिन्।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सन्तोष अहिले फरार छन्। उनीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। फरार रहेका उनको खोजी कार्य भइरहेको छ ।