पोखरा महानगरपालिका-१७ बिरौटा अन्नपूर्ण मार्ग बस्ने ६० वर्षीय लक्ष्मीकान्त शर्माको घरबाट लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ।

घरको ढोकाको ताल्चा फोडेर सुनका गरगहना ३४ तोला ५५ लाल र नगद ३ लाख ७५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीको भनाई छ। त्यस्तै सोही घरमा भाडामा बस्ने सूर्यदेवी पौडेलको सुनका गरगहना २ तोला ७० लाल तथा नगद ५ हजार रुपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार तथा विभिन्न जिन्सी सामानहरू समेत गरी करिब ७० लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

लक्ष्मीकान्त बुधबार पोखरा महानगरपालिका-२२ पाउदुरस्थित पुरानो घर गएकोमा शनिबार घर फर्की आई हेर्दा उक्त नगद तथा सुनका गरगहना चोरी भएको बताइएको छ। प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।