नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको तथा नियमको परिधिभित्र रहेर आसन्न प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा राखेका छन्।

निर्वाचन आयोगले आयोजना गरेको राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलमा राखेको धारणा बारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै उनले ‘संविधान र कानुन अनुसार ५/५ वर्षको पूरै अवधि स्थानीय र प्रदेशलाई अधिकार दिएकाले सोही अनुसार निर्वाचन सम्पन्न गरिनुपर्ने’ धारणा राखे।

‘विगतमा संघ र प्रदेशको चुनाव एकैपटक पनि गरेका छौं। अलग-अलग पनि गरेका छौं‚’ उनले भने‚ ‘यस बारेमा राजनीतिक दलहरूले अझ राम्रोसँग छलफल गरेर टुंगो लगाउने भनिएको छ।’

निर्वाचनको मिति व्यापक छलफल गरेर अर्को बैठकमा टुंगो लगाउने छलफलमा कुरा भएको पनि उनले बताए।

उनले विदेशमा रहेका नेपालीहरूलाई निर्वाचनमा सहभागि गराउने विषयमा पनि आफूले धारणा राखेको स्पष्ट पारे। उनले यस विषयमा निर्वाचन आयोग र राजनीतिक दलहरूले पनि छलफलमा अधिकार सुनिश्चित गर्नेगरी प्राविधिक र अन्य तयारी गर्ने निर्णय भएको बताए।

‘संविधान घोषणा गर्ने बेलामै हामीले भनेको हो कि विदेशमा धेरै नेपालीहरू छन्। लाखौं नेपाली भएको स्थितीमा त्यी नेपालीहरूको मतदानको स्थिती सुनिश्चित गर्ने बनाउनुपर्छ भनियो। सर्वोच्च अदालते पनि साथ दियो‚’ उनले भने।

उनले निर्वाचन आयोगले बोलाएको बैठका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउनुनै महत्वपूर्ण विषय भएको पनि बताए।