नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य गलत रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सबैलाई एउटै डालोमा हालेर हेर्न खोज्नु सत्य नभएको दाबी गरे।

सम्बोधनका क्रममा प्रचण्डले भने, “पुराना नेता र पुराना पार्टीका नाममा एउटा गलत भाष्य बनेको छ कि सबै उस्तै हुन्। त्यसमा मलाई पनि घिसार्न खोजिन्छ, तर त्यो सत्य होइन।”

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यको चर्चा गर्दै अघिल्लो संसदमा आफू प्रधानमन्त्री र प्रमुख विपक्षी दलको नेता हुँदा रास्वपासँग दह्रो सहकार्य गरेको स्मरण गरे। उनले आफ्नो कार्यकालमा सुशासन, सेवा प्रवाहमा सरलीकरण, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्ध कारबाही भएको फेहरिस्त प्रस्तुत गरे।

विगतको दुईतिहाइ सरकारलाई 'कुशासन' को संज्ञा दिँदै प्रचण्डले प्रतिपक्षमा रहँदा सानो संख्यामा भए पनि आफूहरूले विकृति र बेथिति विरुद्ध लडेको बताए।

पुराना र नयाँको बहसलाई दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत ठहर्‍याउँदै उनले भने, “सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो।” प्रचण्डका अनुसार नयाँ र पुराना भन्ने भाष्यले परिवार, समाज र राजनीतिमा विभाजन मात्र ल्याउँछ। बरु सही र गलतको बहसले मात्र गति, रूपान्तरण र नयाँ एकताको आधार खडा गर्ने उनले स्पष्ट पारे।