नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाह सदनबाट बाहिरिएको विषयमा आपत्ति जनाएको छ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेसकी सांसद बासना थापाले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बाहिरिएको दृश्यले संवैधानिक संस्कार र संसदीय परम्परामा प्रश्न उठाएको बताइन्।
यस विषयमा उनले प्रधानमन्त्रीसँग जवाफ माग समेत गरेकी छिन्।
उनले भनिन्,‘लोकतान्त्रि संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौँ। राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन। यो संवैधानिक संस्कार, संसदीय परम्परा र सरकारको गम्भीरता हो। यस विषयमा सरकारले स्पष्ट जवाफ दिइयोस्। संवैधानिक पदको सम्मान गरियोस्। लोकतन्त्रमा पद भन्दा ठुलो मर्यादा हो भन्ने कुरामा ध्यान जाहोस्। र यस विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दछु।’