इटहरी उपमहानगरपालिकाको नगर बस दुर्घटनामा परेको तीन साता हुँदा समेत मर्मत हुन सकेको छैन। म्याजीक भ्यानले ठक्कर दिएर चालक सिट तर्फको सिसा र लुकिङ ग्लास फुटेपछि बस कार्यालय परिसरमै थन्किएको हो।

१ करोड ५९ लाख २१ हजारमा खरिद भएको उक्त बस इटहरीको बजारलाई गाउँसम्म जोड्ने नीतिका साथ खरिद गरिएको छ। मर्मतको सामान पाउनै मुस्किल भएपछि कहिले देखि गाडी सञ्चालनमा आउने बारे यकिन भएको छैन।

असोज २५ गते पश्चिम लाइनको कान्छी चोकबाट पटेरुवा जाँदै गरेको प्रदेश १(०२(००१ क ५३४२ नम्बरको बस दुर्घटनामा परेको हो।

पकलीमा रोकी राखेको बसलाई सामान बोक्ने भ्यानले ठक्कर दिएको थियो। बस दुर्घटना पछि इलाका प्रहरी कार्यालय पकलीमा म्याजीकका चालक विक्रम ठाकुर विरुद्ध बस चालक धन बहादुर नेवारले उजुरी दिएका थिए। प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाएर गाडी मर्मतको जिम्मा सवारी धनीले लिने गरी मिलापत्र गराएको हो।

सवारी धनी गौतम प्रसाद चौधरीले सिसा फेर्ने जिम्मा लिए पनि तत्काल नभेटिएकाले समय लागेको बताए। भैरहवामा गाडीमै जडान भएको गुणस्तरको सिसा पाइने भएपछि सोही अनुसार अगाडी बढ्ने तयारी भएको जानकारी दिए। इटहरीको गोर्खा आल्मुनीयम सँगको समन्वयमा सिसा नाप्ने र ल्याउने काम सुरु भएको उनको भनाइ छ।