सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ घर भएका २० वर्षीय राजु यादव उर्फ क्रिमिनल छन्।
यादवले समाजमा हिंसा फैलाउन उत्प्रेरित गरेको र विभिन्न व्यक्ति, समुदाय र सङ्गठनको मर्यादामा आँच आउने खालका आपत्तिजनक भिडियो बनाएर टिकटकमा अपलोड गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनालले बताए।
असोज २७ मा उनलाई जनकपुर उपमहानगरपालिका–९ बाट पक्राउ गरेर अनुसन्धान थालिएको डीएसपी खनालले जानकारी दिए। उनले आपत्तिजनक शब्दहरू बोल्ने र धाक धम्की दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। धनुषा प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरेर त्यस्ता गतिविधि गर्ने थप चार जनालाई यसअघि पक्राउ गरेको थियो।












