जापानका लागि नेपालका प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफूमाथि लागेका पीआर (स्थायी आवासीय अनुमति) र स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लगायतका आरोपहरूको खण्डन गरेका छन्।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा थापाले आफूले जापानको पीआर त्यागेर नेपालको राष्ट्रिय हितमा काम गर्ने उद्देश्यका साथ अगाडि बढेको दाबी गरेका हुन्। 

संसदीय समितिको बैठकमा थापाले जापानमा आफू र आफ्नो परिवारको हैसियतबारे उठाइएका प्रश्नहरूको विस्तृत जवाफ दिए। जापानस्थित नेपाली दूतावासले त्यहाँको अध्यागमन विभागमार्फत आफ्नो पीआर त्यागेको लिखित जानकारी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको उनले स्पष्ट पारे। 

आफ्नो पारिवारिक अवस्थाबारे बोल्दै उनले भने,‘मेरो श्रीमती र छोराछोरीको त्यहाँको बसाइ भिसाको एक प्रकार मात्र हो, उनीहरू नेपाली नागरिक नै हुन्। म कुनै पनि स्वार्थ बाझिने काम गर्दिनँ। मेरो उद्देश्य दुई देशको सम्बन्धलाई थप बलियो बनाउने र नेपालको विकासमा जापानको सहयोग बढाउने हो।’ 

जापानमा आफ्नो स्वामित्वमा रहेको घरबारे उठाइएका प्रश्नमा उनले सो घर कानुनी रूपमा श्रीमतीको नाममा रहेको र आफ्नो कुनै व्यावसायिक स्वार्थ नरहेको स्पष्ट पारे। दुई देशबीचको कूटनीतिक सम्बन्ध सुधार गर्न आफ्नो लामो अनुभव र जापानसँगको पहुँच फलदायी हुने विश्वास थापाले व्यक्त गरेका छन्। 

कूटनीतिक मर्यादाभित्र रहेर आफूले जापानमा रहँदा पनि नेपालको हितमा निरन्तर काम गरेको उल्लेख गर्दै अनुमोदित भएमा राष्ट्रको सर्वोपरी हितलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता उनले जनाएका छन्।