मोरङको कानेपोखरीबाट सडक सीमा भित्र पर्ने रुखहरु कटान थालिएको छ।

झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर दुरी सडक विस्तार अन्तर्गत मोरङ जिल्लामा सडक सीमा क्लियरको काम सुरु गरिएको हो। 

एसियाली विकास बैंकको सहयोगमा पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको दुई लेनको सडक चार लेनमा विस्तारको काम अगाडी बढिसकेको छ। सडक आयोजना प्रमुख जगत प्रजापतीका अनुसार सातदेखि ११ मिटर चौडाइको सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धशहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाउने योजना रहेको छ।

एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा तीन जिल्लामा १२० किलोमिटर सुडक चारलेन, ७१ वटा नयाँ पुल निर्माणका लागि १२ हजार भन्दाबढी रूख कटान गर्नुपर्ने गुरुयोजनामा देखिएको छ। विस्तारित हुने सडक काकडभिट्टामा एसियन हाइवेसँग जोडिएको छ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने यो सडकलाई ‘महान् एसियाली राजमार्ग’ ले चित्रित गरिएको छ। नेपालमा एक किलोमिटर भागमा मेचीपुल निर्माण भईसकेको छ। मोरङको कानेपोखरीमा बुधबारदेखि रुख कटान सुरु भएको हो। कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती (सुशिल) ले पश्चिम खण्डको रुख कटानको सुरुवात गरेका थिए।

त्यस क्रममा मन्त्री उप्रेतीले बाटो निर्माणका लागि रुख काटिनु सामान्य हुने बताएका छन्। उनले एसियन हाईवे विस्तारसँगै त्यसले स्थलमार्गबाट हुने पर्यटक आगगमन बढाउने विश्वास व्यक्त गरे। प्रदेश सरकारले वनसँग सम्बन्धित कुनैपनि अड्चन आउन नदिने विभागिय मन्त्रीको हैसियतमा उप्रेतीले प्रतिवद्धता समेत जाहेर गरेका थिए।