नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टी बैठकमा बोलाएर निर्देशन दिनुपर्ने धारणा राखेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक परिवेश र सरकारबारे विशेष सम्बोधन गर्दै उनले पछिल्लो समय सरकारले गरेको गतिविधिको आलोचना गर्दै यस्तो धारणा राखेका हुन्।
सरकारले गरेका गलत विषयलाई रास्वपा संसदीय दलको बैठक बसेर प्रधानमन्त्रीलाई समेत बोलाएर निर्देशन दिनुपर्ने उनको धारणा छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बसोस्। सम्माननीय प्रधानमन्त्रीलाई त्यहाँ बोलाइदिनुहोस्‚’ उनले भने‚ ‘त्यहाँ बैठकबाट निर्देशन दिने काम होस्। प्रधानमन्त्रीजीले त्यो निर्देशन बोकेर गएर सरकारले काम गरोस्। छानबिन होस् परिणाम आओस्।’
साथै उनले, वर्तमान सरकारको यो प्रवृत्तिले हद नाघेको भन्दै त्यसको जिम्मेवारी सत्तारूढ दलको हैसियतमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्ने धारणा राखे।
‘सरकार राम्रो काम गरे रास्वपा अनि सरकारले नराम्रो काममा प्रश्न उठे त्यो चाहिँ प्रधानमन्त्री ?‚’ उनले प्रश्न गरे। उनले अहिले जति पनि सरकारबाट भएको अलोकप्रिय कार्य छन्, त्यसको जिम्मेवारी रास्वपाले लिनुपर्ने धारणा राखे।












