प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको स्वेच्छाचारी गतिविधिले सीमा नाघेको टिप्पणी गरेको छ।
शुक्रबार सञ्चार गृहमा प्रहरीले धरपकड गरेर पत्रकार पक्राउ गरेपछि सरकार सानो समूहको स्वेच्छाचारी गतिविधिबाट सञ्चालन भइरहेको सभापति गगन थापाले बताएका हुन्। सरकारका पछिल्ला गतिविधिप्रति धारणा सार्वजनिक गर्दै सभापति थापाले अब चुप लागेर बस्न नसक्ने घोषणा गरेका हुन्।
अप्ठ्यारो परेका बेला निसर्त सरकारलाई सहयोग गरे पनि जस्तासुकै विषयमा चुप लाग्न नसक्ने प्रष्ट पारेका हुन्।
‘अप्ठ्यारो परेका बेला हामीले विपक्षीमा भएर अर्को पार्टीको सरकार भनेनौँ। रास्वप फरक दल हो भन्ने सोचेनौँ, तर लोकतन्त्र, मौलिक हकका विषयमा सीमा नाघे कांग्रेस चुप बस्दैन। हामी प्रतिवाद गर्छौ,’ उनले भने।
सभापति थापाले सञ्चार गृहमा प्रहरी प्रवेश गरेर धरपकड गर्ने, पत्रकार पक्राउ गर्ने कार्यले शाहीकालको स्मरण गराएको टिप्पणी गरे।
थापाले भने, ‘यो चिन्तित बनाउने प्रवृत्ति हो। सानो समूहले हामी नै राज्य हो भन्ने, हामीले बोलेको कुरा हुकुम हुन् भन्ने बुझ्यो। त्यो समूहलाई राज्यका निकायलाई हाम्रा आदेश पालन गर्ने निकाय हुन् भन्ने भ्रम देखियो। यो प्रवृत्तिले हद नाध्यो। अब यसलाई सामान्य रुपमा लिन सकिँदैन।’
समाचार लेख्ने सञ्चारमाध्यममाथिको धरपकडलाई निष्कर्षमा पुर्याएर दोषीमाथि कारबाही हुनुपर्ने कांग्रेसको माग छ। घटनालाई त्यत्तिकै छाड्ने कार्य अस्वीकार्य हुने बताए। उनले भने, ‘अब यो विषय सकिँदैन, र सकिनु हुँदैन। यसभित्र गम्भीर विषय छन्। सरकारले राज्यलाई कसरी हेरेको छ, सरकारले नागरिकको अधिकार अभिव्यक्ति स्वतन्त्रता र प्रेसलाई कसरी हरेको छ? त्यो हामी जान्न चाहन्छौँ।’
सभापति थापाले रास्वपालाई आफ्नो नेतृत्वको सरकारलाई सीमाभित्र राख्न सुझाव दिए। तत्काल संसदीय दलको बैठकमार्फत प्रधानमन्त्रीलाई निर्देशन दिएर दोषीमाथि कारबाही गर्न निर्देशन दिन थापाले आग्रह गरे।












