भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यो आर्थिक वर्षको पहिला त्रैमासिकमा १३५ परिसरलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ।
भूमि समस्या समाधान समिति (ताहाचल) ले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासिक (साउन १ देखि असोज मसान्तसम्म) अवधिमा १३५ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहिलो त्रैमासिक प्रगति विवरणमा उल्लेख गरेको छ।
आज सार्वजनिक प्रतिवेदनमा उल्लेख तथ्यांकअनुसार वितरण गरिएका कुल १३५ थान पुर्जाहरूमध्ये भूमिहीन दलितलाई ११ थान, भूमिहीन सुकुम्बासीलाई ४१ थान र अव्यवस्थित बसोबासीलाई ८३ थान रहेका उल्लेख छ।
प्रतिवेदनमा समितिले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि लगत सङ्कलन, प्रमाणीकरण र नापनक्साको कामलाई तीव्रता दिएको उल्लेख छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीको यथार्थ विवरण सङ्कलनका लागि सञ्चालित समितिको सूचना प्रणालीमा यस अवधिमा ५१ हजार ५ सय १७ थान निवेदनहरू प्रविष्ट (इन्ट्री) भएका छन्।
त्यसमा भूमिहीन दलिततर्फ ७ हजार ७०, भूमिहीन सुकुम्बासीतर्फ ८ हजार ८३ र अव्यवस्थित बसोबासीतर्फ ३१ हजार ३१७ निवेदन रहेका प्रतिवेदनमा उल्लेख छ। विगतका आयोगका अधुरा–अपुरा काय पूरा गर्न भन्दै ५ हजार १२७ निवेदन दर्ता भएको पनि प्रतिवेदनमा उल्लेख छ।
जग्गा पहिचान र वितरण प्रक्रियालाई व्यवस्थित बनाउन समितिले यस त्रैमासिक अवधिमा देशभरका विभिन्न स्थानमा गरी कुल १ हजार ९ सय ४७ कित्ता जग्गाको नाप नक्सा कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।
काठमाडौँ उपत्यकाभित्रको समस्या समाधान गर्न भन्दै समितिले यसै अवधिमा भक्तपुर नगरपालिकासँग भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको र सहमतिपश्चात् वास्तविक लगत सङ्कलनका लागि औपचारिक सूचनासमेत प्रकाशन भइसकेको उल्लेख छ।












