विराटनगरमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्। मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा आइतबार बिहान फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको हो।
प्रहरीका अनुसार बिहान करिब ११ः३० बजे भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन्।
विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामप्रसाद शर्माको कमान्डमा टोली घटनास्थल पुगेको थियो।
घाइते दुवै जनालाई उपचारका लागि स्थानीय जितु मेडिकल पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।












