राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ।
पार्टी प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि समिति सदस्यहरूको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएको हो।
जसअन्तर्गत क्यान्डिडेट क्लब उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा। तोसिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई तोकिएको छ।
पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला गरेको हो।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ।












