डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगाड क्षेत्रमा हिमपातका कारण अलपत्र परेका ६ भारतीय पर्यटकको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ जाने तयारीमा छ। उद्धारमा लाग्ने खर्च विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने गरी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन्।
हिमपातका कारण अलपत्र परेका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंहा, दिप्लिना विश्वास र राजेश डे रहेका छन्।
केही दिनदेखि डोल्पाका उच्च हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेको छ। हिमपातका कारण जनजीवन प्रभावित हुनुका साथै पर्यटकीय क्षेत्रमा पुगेका नागरिकसमेत जोखिममा परेका छन्।
प्रतिकूल मौसमका कारण थप जोखिम निम्तिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय बासिन्दा तथा पर्यटकलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
मौसम प्रतिकूल भइरहेकाले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।












