भारी हिमपातपछि बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन्।
शुक्रबारदेखि सम्पर्कविहीन कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत फेला परेका हुन्।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार युवकको खोजीका लागि आज सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटाइएको थियो। खोजीका क्रममा बोहरा मृत अवस्थामा फेला परेका हुन्।
मृतक युवकको खोजीमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत फिर्ता ल्याउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
यसअघि हिमपातपछि बडीमालिकाको त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। उनलाई मार्तडी ल्याइएको थियो।
चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिकाको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए।












