मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा यही साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्ड लागु हुने भएको छ । अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य बीमा बोर्डबीच भएको सम्झौताअनुसार स्वास्थ्य बीमा कार्डमार्फत् उपचार सेवा सुरु हुने भएको हो ।
नोबेल अस्पतालबाट स्वास्थ्य बीमा कार्डमार्फत् उपचार सेवा लिन चाहने बिरामीले कृयाशील अवस्थामा रहेको स्वास्थ्य बीमा कार्डका साथमा सो कार्डमा तोकिएको पहिलो स्वास्थ्य संस्था (प्राइमेरी सेन्टर) बाट जारी गरिएको रेफर पुर्जी देखाउनुपर्ने अस्पताल निर्देशक डा.राजेश नेपालले जानकारी दिए ।
उनका अनुसार बीमा कार्डमार्फत् उपचार गराउन आउने बिरामीको उपचारमा खर्च हुने कुल रकमको २० प्रतिशत बिरामी स्वयंले भुक्तान गर्नुपर्नेछ भने बाँकी ८० प्रतिशत रकम बीमा बोर्डले भुक्तान गर्नेछ ।
बीमा कार्डमा तोकिएको पहिलो स्वास्थ्य संस्थामा गरिसकिएको प्रयोगशाला परीक्षण दोहोर्याएर गर्न नपाइने बताउँदै अस्पताल निर्देशक डा. नेपालले पहिलो स्वास्थ्य संस्थामा उपलब्ध नहुने जटिल प्रकृतिका प्रयोगशाला परीक्षण र उपचार सेवा मात्र नोबेल अस्पतालले प्रदान गर्ने स्पष्ट पारे ।
पहिलो स्वास्थ्य संस्थाबाट रेफर पुर्जी जारी भएको सात दिनभित्र अस्पताल आइसक्नुपर्ने र लामो अवधिसम्म उपचार जारी राख्नुपर्ने भएमा एउटै रोगको उपचारका लागि एक पटक जारी गरिएको रेफर पुर्जी एक वर्षसम्म मान्य हुने डा. नेपालले उल्लेख गरे ।
विभिन्न एक हजार एक सय प्रकारका औषधि बिरामीले स्वास्थ्य बीमा कार्डमार्फत् ८० प्रतिशत छुटमा प्राप्त गर्ने अस्पतालले जनाएको छ ।