नेकपा एमाले सम्बद्ध भूमि अधिकार तथा श्रमिक संगठन मोरङकी जिल्ला अध्यक्ष निशा किरण राईले सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यलाई 'राज्य आतंक' को संज्ञा दिँदै कडा चेतावनी दिएकी छिन ।

मंगलबार बेलबारीमा आयोजित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष राईले देशभरका करिब ४० लाख सुकुम्बासीहरूमाथि राज्यले अन्याय र दमन गरिरहेको बताईन । काठमाडौँमा देखिएको 'बालेन शैली' को डोजर आतंकले देशभरका सुकुम्बासीलाई त्रसित बनाएको भन्दै उनले  यसको घोर भर्त्सना गरिन ।

"राज्य र सरकारको दायित्व जनतालाई भूमि र आवास दिनु हो, तर यहाँ त उल्टै गरिबको बास खोस्न डोजरको प्रयोग गरिँदैछ," राईले भने , "यो सरासर राज्य आतंक हो। सुकुम्बासीको आँसुले यो सरकारलाई पोल्नेछ।"

सम्बोधनका क्रममा अध्यक्ष राइले  सत्तामा बसेका नेताहरूलाई कडा चेतावनी दिँदै भनिन , "जुन सुकुम्बासीको भोटले नेताहरू कुर्सीमा पुगेका छन्, तिनै सुकुम्बासीहरू जागे भने कुर्सीबाट घिसारेर सडकमा पछार्न बेर लाउँदैनन्। जनताले कुर्सी हल्लाउन मात्र होइन, कुर्सीमा बस्नेलाई लात हानेर निकाल्न पनि जान्दछन्।"

अध्यक्ष राईले देशभरका सुकुम्बासीहरूलाई एकजुट हुन आह्वान गर्दै उचित विकल्प र व्यवस्थापन बिना कसैको पनि घर भत्काउन नदिने प्रतिवद्धता व्यक्त गरिन । सुकुम्बासीहरूको हकहितका लागि आफ्नो संगठनले जस्तोसुकै आन्दोलन र प्रतिकार गर्न तयार रहेको राइको भनाइ थियो।

सो अवसरमा राइले राज्यले सुकुम्बासीलाई अपराधी जस्तो व्यवहार गरेकोमा आपत्ति जनाउँदै समस्याको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग समेत गरे ।