विराटनगर। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ मा राजनीतिक तनाव बढ्न थालेको छ। 

झापाको कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रहेको रास्वपाको सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा तोडफोड भएको हो। यो घरको माथिल्लो तलामा रास्वपाले चुनावी रणनीति बनाउन र उम्मेदवार बालेन शाहले स्थानीयसँग भेटघाट गर्न सम्पर्क कार्यालय स्थापना गरेको थियो।

झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र बहादुर खड्काका अनुसार बुधबार राति अज्ञात समूहले अचानक ढुङ्गामुढा गरी घरका झ्यालका सिसाहरू फुटाएका छन्। ‘रास्वपाले एउटा कोठा भाडामा लिएको भए पनि तोडफोडबाट घरबेटी बस्ने तर्फका सिसाहरू समेत फुटेका छन् ’डीएसपी खड्काले भने। घरमा मानिसहरू सुतिरहेको अवस्थामा भएको यस आक्रमणले स्थानीयमा त्रास फैलाएको छ।

यो क्षेत्र नेपालको राजनीतिको केन्द्र मानिने झापा ५ हो, जहाँ यसपटक रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारीले राष्ट्रिय ध्यान खिचेको छ। बालेनले स्थानीय कार्यकर्ता र मतदातासँग भेटघाट गर्ने मुख्य थलोका रूपमा यो कार्यालयलाई प्रयोग गर्दै आएका थिए। 

घटनास्थलको मुचुल्का उठाएर प्रहरीले दोषीको खोजी सुरु गरिसकेको छ। निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता बढेकाले यस घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ।