नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले वर्तमान सरकार निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकार अवैध, असंवैधानिक भएको समेत आरोप लगाए।

'अहिलेको सरकारले निर्वाचनलाई सार्ने बहाना खोज्दैछ। सायद हिजो कि अस्ति हो, कहाँ हो, अहिलेको प्रधानमन्त्री भनौं, सुशीला। उहाँले कता बोलेको छ, हिमपात बढी भयो, मौसम खराब भयो भने त्यहाँ चुनाव सर्न सक्छ भनेर,’ थापाले भने, ‘त्यो चुनाव दुई चरणमा हुनसक्ने, हिमाली क्षेत्रमा अहिले चुनाव हुन नसक्ने भनिएको छ। अहिलेको सरकार निर्वाचन सार्ने बाहना खोजिरहेको छ।’

आफ्नो पार्टीले यसअघि नै चुनाव नहुने जिकिर गर्दै अहिले सरकारले बहाना खोजेको उनले बताएका हुन्।

‘हाम्रो पार्टीले पहिलादेखि नै भनिरहेको थियो, अहिले उनीहरू बहाना खोजिरहेका छन्। मौसमलाई बाहना बनाएर सार्ने प्रयास हुँदैछ,’ थापाले भने।