बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
जीतपुरसिमरा–२ घर भएका १६ वर्षीय सुमन थापा र प्रोगेस चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख दिलिप क्षेत्रीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय कलैयामा पत्रकार सम्मेलन गरेर घटनाबारे सार्वजनिक गरिने उनको भनाइ छ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार घटनामा संलग्न थापा र चौधरी म्याजिक चलाउने सवारी चालक तथा सहचालक हुन्। प्रहरीका अनुसार थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान रहेको घरमा लगेको र बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
साउन ३१ गते बेपत्ता भएकी बालिकालाई सोही दिन हत्या गरेको बयान आरोपितले प्रहरी समक्ष दिएका छन्। बालिकाको शव भने अहिले परीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको छ।
बालिकाको शव फेला परेको केही बेरमै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयले बुधबार बिहान १० बजेदेखि नै पथलैया–वीरगन्ज सडकखण्डमा प्रदर्शन गरेका छन्। उनीहरूले दोषीमाथि कडा कारबाहीको माग राख्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन्।












