राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको गम्भीर लापरबाही रहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद अन्सारीले इलाका प्रहरी कार्यालय सिमराको अकर्मण्यताका कारण बालिकाको ज्यान गएको दाबी गरे। उनले घटनाप्रति प्रहरीको फितलो उपस्थिति र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयको ध्यानाकर्षण गराए।

उनले भने,‘ बारा जिल्ला, सिमरा वडा नम्बर १ मा जुन ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भयो, त्यो विषयलाई अलि म अर्कै ढंगले भन्न चाहन्छु। बारा जिल्लाको इलाका प्रहरी कार्यालय, सिमरा, यो लापरबाही र लेनदेनको केन्द्रविन्दु बनेर रहेको छ। गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु। आज दुई जना नालायक प्रहरी अफिसरका कारण ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। त्यहाँ प्रहरीले खोजेको होइन। बालिका हराएपछि प्रहरीलाई जानकारी गराएको २४ घण्टासम्म पनि कुनै पनि प्रहरी कतै परिचालन भएको छैन। जब छिमेकीले ७२ घण्टापछि यहाँ शवको गन्ध आइरहेको छ भन्ने थाहा पाएँ, त्यसपछि प्रहरी र प्रहरीको कुकुर सबै गएका छन्। इलाकाका प्रहरी अफिसरहरूलाई तानेर हुन्छ कि कारबाही गरेर हुन्छ, प्रहरीको एक्सन लक थाहा हुनुपर्यो। १ घण्टामा प्रहरीले के गर्यो ? २ घण्टामा के गर्यो ? ६ र १२ घण्टामा के गर्यो ?’

अन्सारीका अनुसार बारा जिल्ला, सिमरा वडा नम्बर १ मा बालिका हराएको जानकारी प्रहरीलाई गराइए पनि त्यसपछि लामो समयसम्म खोजीका लागि प्रहरी परिचालन भएन। बालिका हराएको ७२ घण्टापछि स्थानीयले शवबाट दुर्गन्ध आएको थाहा पाएपछि मात्रै प्रहरी र प्रहरीको कुकुर घटनास्थलमा पुगेको उनको दाबी छ।

उनले घटनामा इलाका प्रहरी कार्यालयका सम्बन्धित प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाही गर्न माग गरे। बालिका हराएपछि प्रहरीले एक, दुई, छ र १२ घण्टामा के–कस्तो खोजी तथा अनुसन्धान गर्यो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

‘प्रहरीले छिनछिनको घटनाको अपडेट दिन सक्नुपर्छ। स्थानीय वा अरूले शव फेला पारेपछि मात्रै कुकुर र प्रहरी पुगेर हामीले छानबिन गर्दै छौँ भन्नुको कुनै तुक छैन,’ अन्सारीले भने।

उनले घटनाको प्रारम्भिक चरणमै प्रहरी सक्रिय हुनुपर्ने भन्दै घटनापछि मात्रै अनुसन्धानमा पुगेको प्रहरीलाई जवाफदेही बनाउनुपर्ने बताए। साथै, इलाका प्रहरी कार्यालय सिमरा लापरबाही र लेनदेनको केन्द्र बनेको आरोप लगाउँदै त्यसबारे गृह मन्त्रालयले गम्भीर रूपमा ध्यान दिनुपर्ने माग गरे।