झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा प्रहरीले चेकजाँचको क्रममा भन्सारछली गरी अवैधरुपमा लुकाई छिपाई ल्याउँदै गरेको करिब ९ लाख ३ हजार ४७० रुपैयाँ बरावरको विभिन्न प्रकारको सामग्रीहरू बरामद गरेको छ।
असोज २० गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा यात्रुवाहक बसमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको करिब १ लाख ६२ हजार ६१० रुपैयाँ मूल्य बराबरको रजनीगन्धा, चकलेट, नरिवल, काजु लगायतका विभिन्न किसिमको खाद्यान्न सामग्री बरामद गरेको छ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय मोरङले बुढीगंगा गाउँपालिका-५ स्थितबाट भन्सार छलीका कुर्था सुरुवाल, बच्चाको जामा, भेष्ट र मोजासहित करिब ४ लाख ९ हजार ४६० रुपैयाँ मूल्य बरावरको कपडा बरामद गरेको छ भने विराटनगर-९ स्थितबाट करिब २ लाख ७० हजार मुल्यबरावरको बिल बिजक नभएको ५४० किलोग्राम सुपारी बरामद गरेको छ। चेकजाँचकै क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-६ स्थितबाट भन्सार छलीका करिब ५० हजार मूल्य बरावरको कुर्था सुरुवाल र झापाको इलाका प्रहरी कार्यालय शिवगंजले करिब ११ हजार ४ सय बरावरको खाद्यान्नका सामग्री बरामद गरेको छ।
लागू औषध गाँजा बरामद
भोजपुर, धनकुटा र मोरङबाट ८ सय ५ किलो ८२९ ग्राम लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ। असोज २० गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी गस्ती टोलीले हतुवागढी गाउँपालिका-९ स्थित धिरिङ खोला छेउबाट ६ वटा प्लास्टिको बोरामा प्याक गरी राखेको २ सय ४४ किलो ७७९ ग्राम गाँजा सहित आमचोक गाउँपालिका-७ का एकराज मगरलाई नियन्त्रणमा लिएको छ। सोही दिन धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-६ स्थित भित्री सडक खण्डमा दुर्घटना भएको बा. १३ च ६२७५ नम्बरको स्कर्पियो गाडीमा बोरामा प्याक गरी राखेको अवस्थामा ३ सय ४१ किलोग्राम गाँजा बरामद गरेको छ भने संलग्न व्यक्तिको खोजी कार्य भईहरको छ। यसै गरी मोरङको जहदा गाउँपालिका-१ स्थित धान खेतमा बेवारिसे अवस्थामा रहेको २ सय २० किलो ५० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ।
लागूऔषध सहित ११ जना पक्राउ
झापा,मोरङ, सुनसरी, धनकुटा, उदयपुर,भोजपुर र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरिएको छ। असोज २० गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर नगरपालिका-१० का अभिषेक चौधरीलाई ५ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित, मोरङको लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीले केराबारी नगरपालिका-९ का नविन राई र केराबारी-१ का मणिराज गुरुङलाई ४ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। यसैगरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका-५ का रोहित श्रेष्ठलाई २ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। चेकजाँचकै क्रममा सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१७ का राजन राई र इच्छा परियारलाई १७० मिलिग्राम ब्राउन सुगर सहित र प्रदेशीक अनुसन्धान समूह, विराटनगरले धरान-४ का अर्जुन श्रेष्ठ, धरान-७ का दिपक मगर र धरान-१५ का बाबुराम बयलकोटीलाई ट्रामोल ८०० क्याप्सुल र डिकोलिक ८०० ट्याब्लेट सहित र उदयपुरको इलाका प्रहरी कार्यालय ठोक्सिल्लाले बेलका नगरपालिका-४ का सबिन राईलाई ट्रामाडो-९०० क्याप्सुल सहित पक्राउ गरेको छ। र भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारले आमचोक नगरपालिका ७का १९ वर्षीय एकराज मगरलाई २ सय ४४ किलो ७७० ग्राम गाँजा सहित पक्राउ गरेको छ।
विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरु पक्राउ
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २२ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ। अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानुन कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २० गते मोरङबाट १७ जना, झापाबाट २ जना र धनकुटाबाट २ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट ५ वर्ष ७ महिना २ दिन कैद सजाय र १ लाख ५७ हजार ४ सय रुपैयाँ जरिवाना बापतको रकम असुल उपर भएको छ भने उनीहरूलाई कैद भुक्तानको लागी कारागार पठाइएको छ।