‘काम गर्ने कालु, मकै खाने भालु’– नेपाली समाजमा प्रचलित यो उखान यतिबेला मोरङको बेलबारीमा चरितार्थ भएको छ । बेलबारी नगरपालिकाको वडा नम्बर ५, ६ र ७ लाई जोड्ने नहरको बाटो (नेताचौक देखि कालिस्थान सम्म) मर्मतको विषयलाई लिएर अहिले राजनीति एकाएक तातेको छ । काम नगरपालिकाले गर्ने, तर त्यसको जस लिन लुछाचुँडी गर्ने प्रवृत्तिले विकासको नाममा कस्तो घिनलाग्दो राजनीति हुँदो रहेछ भन्ने स्पष्ट पारेको छ।

केही दिनदेखि खाल्डाखुल्डीले अस्तव्यस्त बनेको नहरको बाटोमा गिटी हालेर सम्याउने काम भइरहेको छ । तर, काम पूरा नहुँदै सामाजिक सञ्जालमा मोरङ क्षेत्र नम्बर ४ का रास्वपा सांसद सन्तोष राजवंशीको ‘जयजयकार’ सुरु भएको छ । सांसद राजवंशीकै पहलमा संघीय बजेटबाट सो सडक मर्मत भएको भन्दै उनका समर्थकहरूले सामाजिक सञ्जालमा उनलाई ‘विकास पुरुष’ र ‘देवता’ नै बनाउने कसरत गरिरहेका छन् । तर, वास्तविकताको धरातलमा उभिएर हेर्दा यो सबै एउटा सुनियोजित ‘स्टन्ट’ मात्र देखिएको छ ।

के हो वास्तविकता ?

सांसद राजवंशीको पहलमा संघीय बजेट आएको भन्दै गरिएको प्रचार सरासर झुटो पुष्टि भएको छ । बुझ्दै जाँदा सो सडक मर्मतका लागि बेलबारी नगरपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ । नगरपालिकाले विगत ५ वर्षदेखि निरन्तर बजेट छुट्याएर मर्मत गर्दै आएको सो सडकमा यसपटक पनि नगरपालिकाकै पैसा खर्च भइरहेको छ ।

नगरपालिकाको बजेटबाट भइरहेको कामलाई आफ्नो व्यक्तिगत वा संघीय पहल भन्दै भ्रम छर्नुले सांसद राजवंशी र उनका कार्यकर्ताहरूको राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ । स्थानीयले सोधेका छन्– “नगरपालिकाले आफ्नै स्रोतबाट गरेको काममा सांसदले कुन मुखले जस लिँदै हिँडेका हुन् ?”

जनतालाई भ्रममा पार्ने खेल

क्षेत्र नम्बर ४ मा पर्ने यी वडाहरूमा विकासको भोको रहेका सोझा जनतालाई फेसबुकका पोस्टहरू मार्फत भ्रमित पार्न खोजिएको स्थानीय बुद्धिजिवीहरूको भनाइ छ । “काम गर्ने नगरपालिका, बजेट नगरपालिकाको, तर जस लिन चाहिँ सांसद तम्सिने ? यो त सरासर काम गर्नेको अपमान हो,” एक स्थानीयले आक्रोश पोखे ।

विकासका ठूला एजेन्डा बोकेर चुनाव जितेका सांसद राजवंशीले आफ्नै क्षेत्रमा संघीय सरकारबाट उल्लेख्य बजेट ल्याउनुको साटो स्थानीय सरकारले गरेको सामान्य मर्मत कार्यलाई पनि ‘मैले गरेको’ भन्दै प्रचार गराउनुले उनको कार्यक्षमतामाथि नै व्यङ्ग्य गरेको छ ।

निष्कर्ष

राजनीतिमा काम गरेर जस लिनु स्वाभाविक हो, तर अरूले गरेको पसिनाको कमाइमा आफ्नो नामको स्टिकर टाँस्नु राजनीतिक बेइमानी हो । बेलबारीको नहरको बाटोमा अहिले भइरहेको ‘क्रेडिट लिने होडबाजी’ले सांसद राजवंशीलाई फाइदा भन्दा बढी आलोचनाको केन्द्रमा उभ्याएको छ । काम गर्ने ‘कालु’ (नगरपालिका) ओझेलमा पर्ने र मकै खाने ‘भालु’ (सांसद) ले ताली पाउने अवस्थाले बेलबारीको राजनीति कुन दिशातर्फ जाँदैछ भन्ने प्रष्ट पार्छ । अब जनताले सोध्ने बेला आएको छ– “माननीयज्यू, संघीय बजेट खोई ? नगरपालिकाको काममा फेसबुक रंगाउन लाज लाग्दैन ?”