राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५१ करोड १७ लाख २ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

विश्वविद्यालयको सिनेट बैठक (सभा) मा प्रस्तुत वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव अनुसार पुँजीगततर्फ २१ करोड ८ लाख ९५ हजार र सञ्चालनतर्फ ३० करोड आठ लाख  सात हजार रुपैयाँ विनियोजन गरिएको छ।

विश्वविद्यालय ऐन, २०७४ को व्यवस्था बमोजिम सो बजेट तथा कार्यक्रम स्वीकृतिका लागि सभामा पेस गरिएको हो। विश्वविद्यालयले प्राविधिक, व्यावसायिक तथा सामयिक शैक्षिक कार्यक्रमहरूलाई तीव्रता दिँदै गत आव २०८२/०८३ को प्रगति विवरण पनि सार्वजनिक गरेको छ। हाल विश्वविद्यालय मातहत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा गरी कुल पाँच हजार ९२७ जना विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका २० भन्दा बढी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा पछिल्लो समय बीआइटी, एमसीए, बीए एलएलबी, एलएलएम लगायतका नौ नयाँ विषयका कक्षाहरू समेत सञ्चालनमा ल्याइसकेको छ। 

प्रस्तावित नयाँ कार्यक्रमअन्तर्गत आगामी शैक्षिक सत्रमा कम्तीमा पाँच हजार नयाँ विद्यार्थी भर्ना गर्ने र विश्वविद्यालय अनुदान आयोगको निर्देशानुसार एकीकृत शैक्षिक क्यालेन्डर पूर्णरूपमा लागू गर्ने लक्ष्य राखिएको छ। प्राविधिक शिक्षालाई व्यवस्थित गर्न 'स्कुल अफ हेल्थ साइन्स' सञ्चालनमा ल्याइएको छ भने विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यासका लागि विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूसँग सम्झौता गरी कार्य अघि बढाइएको छ।

यसका साथै, जेहेन्दार विद्यार्थीहरूका लागि 'सिक्दै कमाउँदै' अवधारणा र बजारको मागमा आधारित पाठ्यक्रम लागु गरिएको छ। विश्वविद्यालयको आफ्नै भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै धनुषाको नगराइनमा प्राप्त नौ बिघा १४ कठ्ठा जग्गामा विस्तृत आयोजना प्रतिवेदन बमोजिम आधुनिक शैक्षिक भवन निर्माण प्रक्रिया अघि बढाउने भएको छ।