नेपाली कांग्रेसका सभापति गगन थापाले शानका साथ अदालत जाने र विशेष महाधिवेशनको पक्षमा डिफेन्स गर्ने बताएका छन्।

केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

“अदालतले निर्णय गरेको छ। के गर्ने हो भनेर साथीहरुले सोध्नुहुन्छ,” थापाले भने, “विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन गरेका हौँ । अधिवेशनको निष्कर्ष लिएर निर्वाचन आयोगमा गयौँ। कानुनी व्यवस्थाअनुसार परिणाम बुझ्नुभयो, सकियो। हामी काम गर्न थाल्यौँ। तर केही साथीहरुले चित्त बुझाउनुभएन। अदालत जानुभयो। अदालतले निर्णय गर्‍यो। हामी अदालत गएर होइन हलले नै ठिक गर्‍यो भनेर गएको हो।”

उनले फेरि पनि नेताहरु चित्त नबुझेर अदालत गएको बताउँदै भने, “त्यसमा पनि चित्त नबुझेर फेरि अदालत जानुभयो। एकपल्ट फेरि निर्वाचन आयोगले गरेको निर्णय त्यहीँ छ। त्यसमा छलफल होस् भन्ने चाहनुभएकाले हामी शानका साथ अदालत जाने, शानका साथ डिफेन्स गर्ने हो।”

उनले सरकारमा रहनुभएका व्यक्तिहरुतर्फ औंला ठड्याइएको बताउँदै संस्थाहरुले गरेका निर्णयमा आशंका नगर्न सुझाव दिए।

“सम्मानित अदालतको निर्णयका बारेमा सरकारका फलाना मान्छेले यसको भनेको थियो भनेर सुनाउँछन्, मलाई पनि सूचना होला,” उनले भने, “संस्थाहरुमाथि प्रश्न गर्ने होइन। यसले संस्था कमजोर बनाउँछ। अदालतमाथि विश्वास गर्नुपर्छ। बाँकी समयलाई छाडिदिउँ।”