मोरङको लेटाङमा इलाका प्रहरी कार्यालयले प्रहरी कर्मचारीको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘बीएमआई परीक्षण’ कार्यक्रम सुरु गरेको छ।

‘स्वस्थ प्रहरी, सुरक्षित समाज’ भन्ने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रममा इलाका प्रहरी कार्यालय लेटाङ तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीको उचाइ र तौल मापन गरी बीएमआई परीक्षण गरिएको हो।

परीक्षणका क्रममा प्रहरी कर्मचारीलाई आफ्नो बीएमआईको अवस्थाबारे जानकारी गराउँदै सन्तुलित खानपान, स्वस्थ जीवनशैली र नियमित शारीरिक व्यायामको महत्वबारे आवश्यक जानकारी तथा सुझाव दिइएको छ।

यसै अवसरमा कार्यालयले उचाइसमेत मापन गरी तौल परीक्षण गर्ने विद्युतीय उपकरण, कार्यालय परिसरमा निर्माण गरिएको बीएमआई तालिका तथा व्यायाम क्षेत्रसमेत औपचारिक रूपमा प्रयोगमा ल्याएको छ।

प्रहरी कर्मचारीलाई नियमित शारीरिक व्यायाममा सहभागी गराउँदै स्वस्थ, चुस्त र सेवामुखी प्रहरी जनशक्ति निर्माण गर्ने लक्ष्य कार्यालयले इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साहले बताए।

स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको बताउँदै स्वस्थ प्रहरी मात्रै प्रभावकारी रूपमा नागरिक सेवामा समर्पित हुन सक्ने बताए। प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

इलाका प्रहरी कार्यालय लेटाङ तथा मातहतमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीले हरेक महिना अनिवार्य रूपमा बीएमआई परीक्षण गरी अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको प्रहरी निरीक्षक साहको भनाइ छ।