मोरङ, सुनसरी र झापाबाट लागू औषध सहित १० जना पक्राउ परेका छन्।
साउन २३ गते जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका-१, गुप्तबराहस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले वराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१-०२-००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त कारभित्र २२ वटा प्लाष्टिकका पोकामा लुकाई राखेको ४१८ किलो गाँजा फेला पारी कार चालक जिल्ला सुनसरी, धरान उपमहानगरपालिका-१३ का ३४ वर्षीय थमन राई, सोही कारमा सवार जिल्ला ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका-५ का २२ वर्षीया जीवनी राई, मोटरसाइकल चालक जिल्ला मोरङ, कटहरी गाउँपालिका-३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३८ वर्षीय शङ्कर चौधरीलाई पक्राउ गरिएको छ भने जिल्ला सुनसरी, धरान उपमहानगरपालिका-११ स्थित रिटिङ टोलमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान-११ का ३२ वर्षीय उमेश कार्की, ३३ वर्षीय रुद्र मगर र धरान-१६ का २४ वर्षीया स्वस्तिका गुरुङलाई ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
त्यसैगरी, जिल्ला मोरङ, विराटनगर महानगरपालिका-१५, मण्ठा पोखरीस्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय मोहमद हुसेनलाई १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको छ।
त्यसैगरी, जिल्ला झापा, मेचीनगर नगरपालिका-८, सरस्वती टोलस्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो, काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटाभट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ३५६९ नम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा चालक जिल्ला मोरङ, पथरी शनिश्चरे नगरपालिका-५ का २५ वर्षीय गणेश चौधरी र जिल्ला झापा, मेचीनगर नगरपालिका-११, धुलाबारीका २३ वर्षीय सोमनाथ राजवंशीलाई ५३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
पक्राउ परेका सबैको सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ।












