तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन्। सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए।
६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए। पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल भेटिए पनि उनको अवस्था अज्ञात थियो।
सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो।












