अमेरिकी डलर सस्तोमा सटही गरिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका २८ वर्षीय तामाङलाई पक्राउ गरिएको जानकारी दिएको हो।
प्रहरीका अनुसार तामाङले गत असोज २२ गते विभिन्न व्यक्तिलाई फोन गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो मूल्यमा सटही गरिदिने भन्दै सम्पर्क गरेका थिए। विश्वास दिलाउन उनले ५० अमेरिकी डलरको नोटसमेत देखाएका थिए।
त्यसपछि असोज २३ गते गोकर्णेश्वर नगरपालिका–१२ स्थित लसुनटारमा बोलाएर दुई जनाबाट आठ–आठ लाख रुपैयाँ गरी जम्मा १६ लाख रुपैयाँ ठगी तथा लुटपाट गरी उनी जंगलतर्फ फरार भएका थिए।
उक्त घटनापछि खोजीमा रहेको प्रहरी टोलीले कात्तिक १९ गते साँझ करिब ६ः४५ बजे गोकर्णेश्वर नगरपालिका–३ गाम्चास्थित सडकखण्डमा तामाङलाई फेला पारेको थियो। पक्राउ गर्ने क्रममा तामाङले प्रहरीमाथि चक्कु प्रहार गर्दा एक प्रहरी घाइते भएका थिए।
त्यसपछि प्रहरीले चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गर्दा पनि उनी नियन्त्रणमा नआएपछि तत्कालीन परिस्थितिको मूल्याङ्कन गरी घुँडामुनि लक्षित गरी एक राउण्ड गोली चलाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको र उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार तामाङ यसअघि पनि डलर देखाएर ठगी तथा लुटपाट गरेको आरोपमा आठ पटकसम्म पक्राउ परी कानुनी कारबाहीमा परिसकेका व्यक्ति हुन्। उनीमाथि स्वयम्भू, बुढानीलकण्ठ र साँखु क्षेत्रमा सुन देखाएर रकम लुटपाट गरेको आरोपमा समेत अनुसन्धान भइरहेको छ।
प्रहरीले तामाङ समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा डलर ठगी तथा लुटपाटका घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ।












