नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा मोरङ जिल्ला सभापति पदका उम्मेदवार दिलीप गच्छदारले पार्टीभित्रको आन्तरिक एकता, संगठन सुदृढीकरण र विधि तथा पद्धतिको विकासलाई आफ्नो मुख्य प्राथमिकता बनाउने बताएका छन्।
जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गर्दै गच्छदारले आफू निर्वाचित भए पार्टीभित्र देखिएका गुटगत विभाजन, असमझदारी र विभेद अन्त्य गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले आफू ठूला–ठूला आश्वासन बाँड्नेभन्दा व्यवहारमै परिवर्तन गरेर देखाउने पक्षमा रहेको बताए। “म ठूला–ठूला कुरा गर्दिनँ। यदि मलाई विश्वास गरेर जिल्ला सभापतिमा विजयी गराउनुभयो भने सबैभन्दा पहिले पार्टीको एकतामा जोड दिनेछु,” उनले भने।
गच्छदारले पार्टीभित्र विधि, विधान र पद्धतिअनुसार काम गर्ने संस्कारको विकास हुन नसक्दा विभिन्न समस्या र विकृति देखिएको उल्लेख गरे। नेपाली कांग्रेसलाई संस्थागत रूपमा बलियो बनाउन नेतृत्वदेखि कार्यकर्तासम्म सबैले पार्टीको विधि र पद्धति पालना गर्नुपर्ने उनको भनाइ छ।
पार्टीभित्र कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै उनले सबै नेता तथा कार्यकर्तालाई समान न्याय, अवसर र सम्मान प्रदान गर्ने बताए।
“जिल्लाबाट कसैलाई भेदभाव भएको वा कसैलाई काखा र कसैलाई पाखा गरिएको महसुस म हुन दिने छैन,” गच्छदारले भने, “सबै कार्यकर्तालाई समान न्याय र सम्मानको वातावरण बनाउने म विश्वास दिलाउँछु।”
उनका अनुसार मोरङ कांग्रेसलाई बलियो बनाउन गुटगत स्वार्थभन्दा माथि उठेर आपसी विश्वास, सहकार्य र एकताको वातावरण निर्माण गर्न आवश्यक छ। पार्टीमा योगदान गरेका सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङ्कन गर्दै संगठनलाई व्यवस्थित रूपमा अघि बढाउनु जिल्ला नेतृत्वको जिम्मेवारी हुने उनले बताए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ जिल्ला सभापतिको नेतृत्व चयनलाई लक्षित गर्दै गच्छदारले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। उनले मोरङ कांग्रेसलाई एकताबद्ध, अनुशासित र पद्धतिसम्मत बनाउन आफूलाई एकपटक अवसर दिन सभापति क्षेत्रिय प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग मत र समर्थनका लागि अपिल गरेका छन्।












