पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्तारूढ दलभित्र सरकार र पार्टीबीच बढ्दै गएको असमझदारीप्रति चिन्ता व्यक्त गरेका छन्। उनले सरकार रपार्टीबीचको असमझदारी सार्वजनिक रूपमै पोखिन थाल्नु देश र लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्। 

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नेपालको राजनीतिक इतिहासमा विभिन्न दलभित्र देखिएका अन्तरसंघर्ष, गुटबन्दी र विभाजनले देश, लोकतन्त्र र जनतालाई ठूलो क्षति पुर्‍याएको स्मरण गराएका छन्। 

“२००७ सालपछि कांग्रेसमा बिपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरीजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धी पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूह वीचको अन्तरसंघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई कति नोक्सान भयो इतिहास साक्षी छ,” भट्टराईले भने।

भट्टराईले इतिहास दोहोरिनुको कारण मानिसले आफ्ना गल्ती दोहोर्‍याउनु रहेको उल्लेख गरे। “जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्‍याओस्। बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्,” भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।