प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

ब्रिफिङका क्रममा चाडपर्वमा नागरिकको सुरक्षा सुनिश्चित गर्ने तथा समग्र शान्ति–सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिए।

त्यस्तै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त तथा दुरुस्त बनाउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएको प्रधानमन्त्री बालेनको सचिवालयले जनाएको छ।