नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्। दक्षिण कोरियाको सियोलमा जारी आईक्यापको १३औँ महासभाले चौधरीलाई स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित गरेको हो।

एसियाका विभिन्न मुलुकका प्रमुख राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी यस महासभाबाट चौधरी निर्वाचित भएसँगै क्षेत्रीय राजनीतिक संवाद तथा सहकार्यमा नेपालको सहभागिता अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।

आईक्याप एसियाका विभिन्न राजनीतिक विचारधारा र पृष्ठभूमिका दलहरूबीच संवाद, सहकार्य र आपसी समझदारी प्रवर्द्धन गर्ने महत्त्वपूर्ण क्षेत्रीय मञ्च हो। यसको स्ट्यान्डिङ कमिटीले संस्थाका समग्र गतिविधि सञ्चालन, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा तय गर्न निर्णायक भूमिका निर्वाह गर्छ।

उक्त स्ट्यान्डिङ कमिटीमा भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका व्यापार तथा जीवनयापन लागतसम्बन्धी उपमन्त्री डा. फुजिया सल्लेह, श्रीलंकाका यातायात, राजमार्ग तथा सहरी विकासमन्त्री एवं संसद्का नेता बिमल रत्नायके र जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीकी अन्तर्राष्ट्रिय विभाग निर्देशक तथा हाउस अफ काउन्सिलर्सकी सदस्य माइको ताजिमालगायत एसियाका वरिष्ठ राजनीतिक व्यक्तित्वहरू रहेका छन्।

व्यवसाय, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा लामो अनुभव हासिल गरेका चौधरीले स्ट्यान्डिङ कमिटी सदस्यका रूपमा लोकतान्त्रिक शासन व्यवस्था, आर्थिक विकास, उद्यमशीलता, युवा आकांक्षा तथा एसियाली राजनीतिक दलहरूबीचको सहकार्यका विषयमा हुने क्षेत्रीय छलफलहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अवसर प्राप्त गरेका छन्।

चौधरीको यो निर्वाचनले नेपालको आर्थिक रूपान्तरण, समावेशी विकास र अन्तर्राष्ट्रिय सहकार्यका विषयहरूलाई एसियाली राजनीतिक मञ्चमा प्रभावकारी रूपमा उठाउने ढोकासमेत खोलेको छ।

उल्लेखनीय छ, विनोद चौधरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको उपसभापति पदमा निर्वाचित भएका थिए।