नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकार भय र भ्रम सिर्जना गरेर कांग्रेसलाई तर्साउने प्रयासमा लागेको आरोप लगाएका छन्। 

नेपाल प्रहरीको साइबर ब्युरोले सोधपुछका लागि बोलाएपछि उपस्थित भएका शिवाकोटीले ब्युरोबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। 

कांग्रेसका सहमहामन्त्रीदेखि सभापतिसम्म पक्राउ पर्न सक्ने हल्लाबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै शिवाकोटीले भने– ‘सरकार भय र भ्रम सिर्जना गर्न लागिरहेको छ। भ्रमबाट नआत्तिएकाहरूलाई भय देखाएर अत्याँउने सरकारको गतिविधि देखिएको छ।’

कांग्रेसको विगत स्मरण गराउँदै उनले इतिहास नपढेकाहरूलाई इतिहास पढाउन आफूहरू तयार रहेको बताए। ‘कांग्रेस पञ्चायत ढालेर र राजाको प्रत्यक्ष शासनलाई पनि ठाउँमा पुर्‍याएर आएको पार्टी हो,’ शिवाकोटीले भने, ‘त्यही पार्टीका कार्यकर्ता हामी प्रत्येक पटक त्यो देख्दै र लड्दै आएका छौँ।’

सरकारलाई आगोमा हात नहाल्न चेतावनी दिँदै उनले त्यस्तो दुस्साहस गरिए सरकार र नेतृत्वले नै त्यसको ठुलो मूल्य चुकाउनुपर्ने बताए। 

शिवाकोटीले अगाडि भने– ‘यो आगोमा हात हाल्ने प्रयास हो। अफवाह र प्रोपोगान्डा फैलाएर हामीलाई लखेटिहाल्छौँ, लपेटिहाल्छौँ भन्ने भ्रममा सरकार छ भने, त्यो भ्रमबाट सरकार चाँडै निस्किए हुन्छ।’