परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको बताएका छन्।
साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटनसत्रमा उनले शिक्षा र शैक्षिक आदानप्रदानबाट स्थापित सम्बन्ध राष्ट्रहरूबीचको सबैभन्दा बलियो र दीर्घकालीन बन्न सक्ने उल्लेख गरे।
नेपालको विकास यात्रामा जापानको आर्थिक रूपान्तरण र प्राविधिक प्रगतिले प्रेरणा प्रदान उनले बताए। पछिल्लो सात दशकमा जापान नेपालको विश्वासिलो विकास साझेदारका रूपमा रहँदै आएको उनले सुनाए।
पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विपद् उत्थानशीलता र मानव संशाधन विकासका क्षेत्रमा जापानले पुर्याउँदै आएको योगदानको उनले प्रशंसा पनि गरे।
परराष्ट्रमन्त्री खनालले हाल जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका बताए। गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली दोस्रो ठूलो समूहका रूपमा रहेका उनले जनाए।
जापानमा अध्ययन गरेका हजारौँ नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा पेसाकर्मीले स्वदेश फर्किएर नेपालको संस्थागत विकास, उद्योग र समुदायमा योगदान पुर्याइरहेका उनले बताए।












