राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जानकारी दिएको छ। सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको राष्ट्रपतिलाई जानकारी गराएका थिए।

त्यस अवसरमा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका विषयमा पनि राष्ट्रपति पौडेललाई जानकारी गराएको सचिवालयले जनाएको छ।

त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि उनले राष्ट्रपतिलाई अवगत गराएका थिए।

भेटमा सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाका विषयमा समेत सभामुख अर्यालले जानकारी गराएका छन्।

सो अवसरमा राष्ट्रपति पौडेलले संसद्‌मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताए।

संसद्‌मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका कामकारबाहीका विषयमा समेत चासो राखेका थिए। भेटका क्रममा अन्य समसामयिक विषयमा पनि छलफल भएको सचिवालयले जानकारी दिएको छ।