खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी बढेको गुनासोपछि सरकारले काठमाडौँ उपत्यकाका ग्यास डिपोहरूमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ। गृह र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि निगरानी थालिएको हो।
भारतबाट ग्यास आयात नियमित रहे पनि बजारमा कृत्रिम अभाव देखाई बढी मूल्यमा बिक्री भइरहेको सूचना उद्योग मन्त्रालयमा पुगेको थियो। उद्योगमन्त्री गौरी यादवको आग्रहमा गृहमन्त्री सुदन गुरुङले अनुगमन र निगरानीका लागि सादा पोसाकका प्रहरी खटाउन निर्देशन दिनुभएको हो।
प्रहरीले ग्यास लुकाउने, तोकिएको भन्दा बढी मूल्य लिने र कालोबजारी गर्नेमाथि कडा कारबाही गर्ने जनाएको छ। उपत्यकामा सुरु गरिएको यो अनुगमन आवश्यकताअनुसार अन्य जिल्लाहरूका बिक्री केन्द्रसम्म विस्तार गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ।












