मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित डाँडागाउँमा बस्तीको बीचमा सञ्चालनमा रहेको क्रसर तथा अलकत्रा प्लान्ट बन्द वा स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन्।

एशियन हाइवे निर्माण गरिरहेको टुण्डी कम्पनीले बस्तीको बीचमा क्रसर तथा अलकत्रा प्लान्ट सञ्चालन गर्दा धुलो, धुवाँ र प्रदूषणका कारण जनस्वास्थ्य तथा वातावरणमा प्रत्यक्ष असर परेको भन्दै डाँडागाउँ टोलवासीले ध्यानाकर्षण गराएका हुन्। करिब ५० घरपरिवार बसोबास गर्ने डाँडागाउँको पश्चिमतर्फ रोडा, ढुंगा उत्पादन तथा सम्बन्धित कारोबार गर्ने क्रसर र अलकत्रा प्लान्टसहितको उद्योग २०८१ सालदेखि सञ्चालनमा रहेको स्थानीयको भनाइ छ।

उनीहरूका अनुसार उद्योग सञ्चालन गर्दा आवश्यक अनुमति तथा निर्धारित मापदण्ड पूरा नगरिएको हो। उद्योगबाट निस्कने धुलो र धुवाँका कारण टोलको वातावरण प्रदूषित बनेको र वृद्धवृद्धा तथा बालबालिकासहित स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्थानीयले बताएका छन्।