नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन्। 

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो महाधिवेशनको बुधबार उद्घाटन गर्दै जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह गर्नुपर्ने बताइन्। 

“जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा अघि बढ्दै आएको नेकपा (एमाले) मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक दल हो,” भण्डारीले भनिन्, “यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्यांकन हुनु आवश्यक छ। पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्दछ।” 

त्यस्तै, उनले जलवायु परिवर्तन र प्राकृतिक विपद्का बढ्दो जोखिमलाई ध्यानमा राखी स्रोतको दिगो र वातावरणमैत्री उपयोगमा जोड दिनु आवश्यक रहेको बताइन्। 

“प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास, जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवर्द्धन र पर्यावरणमैत्री पर्यटनको विस्तारबाट रोजगारी सिर्जना गर्नुका साथै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सकिन्छ,” उनले भनिन्। 

ती सम्भावनालाई व्यवहारमा उतार्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने बताइन्। यसमा प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलताको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिइन्। 

“उहाँहरूको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्छ। यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ,” उनले भनिन्।