बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। 

बुधवार बिहान ९ः१० बजे भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खसेको हो।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरकी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सोही वडाका ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र २२ वर्षीया रेखा धामी घाइते भएका छन्। 

यस्तै, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी पनि घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।

जिपमा सवार यात्रुहरूको विवरण संकलन गर्नुका साथै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।