समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ।
समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी, शिवशिखर सहकारीका २३ जनाको पूर्ण बचत र कान्तीपुर सहकारी, गौतमश्री बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी, श्री लालिगुराँस बहुउदेश्यीय सहकारीको ९९ जनाको आंशिक बचत फिर्ता गरिएको हो।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ।
समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको छ।












