सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) का कार्यालय प्रमुख सतिश सत्याललाई मन्त्रालय तानिएको छ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को स्वास्थ्य परीक्षणमा फेल भएकालाई पास गराएको आरोपमा उनलाई मन्त्रालयमा तानेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीले गरेको छड्के अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा फेल भएकालाई पास गराइएको भेटिएपछि सत्याललाई मन्त्रालयमा तानिएको मन्त्रालयले जनाएको छ।

सवारी चालक अनुमति पत्र लिँदा वा नवीकरण गर्दा अनिवार्य रूपमा गर्नुपर्ने स्वास्थ्य परीक्षणमा सेवाग्राहीसँग पैसा लिएर फेल भएका व्यक्तिलाई पास गराउने गरेको आरोप उनीमाथि लागेको छ। यस विषयमा लिखित तथा मौखिक रूपमा गुनासो आएपछि मन्त्रालयका सचिव आस्मान तामाङको नेतृत्वमा यातायात व्यवस्था कार्यालय लाइसेन्स कोशीमा छड्के अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा अनियमितता पुष्टि भएपछि सत्याललाई मन्त्रालय तानिएको आन्तरिक मामिला तथा कानून मन्त्री ईन्द्रमणि पराजुलीले जानकारी दिए।

अनुगमन टोलीले कार्यालय प्रमुख सत्यालको कार्यकक्षको दराज समेत सिल गरेको छ। मन्त्री पराजुलीले भने, 'पटक–पटक मौखिक रूपमा सचेत गराएका थियौं। सचेत गराउँदा पनि नसुध्रिएपछि छड्के अनुगमन गर्नुपरेको हो।'