नेपाल प्रहरीले आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ।
सोमबार पूर्वाधार विकास समितिको बैठकमा आगामी चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा भएको छलफलमा प्रहरीले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिएको हो।
बैठकमा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिलजंग शाहले चाडपर्वका बेला यात्रु ठगिने तथा सवारी दुर्घटना हुने जोखिम न्यूनीकरण गर्न यात्रु सहायता कक्ष सञ्चालन गरिने बताए।
उनले भने, ‘आगामी दशैं, तिहार र छठलाई लक्षित गरेर प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गर्दैछौँ। यात्रुबाट बढी भाडा लिने, टिकट नदिने, एउटै सिटको टिकट दुई–तीन जनालाई बिक्री गर्ने लगायतका गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था हुन्छ। यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसहितको टोली परिचालन हुन्छ। साथै, बढी सवारी चाप हुने कलंकी–नागढुंगा क्षेत्रमा उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरेर यात्रु आवागमनलाई सहज र व्यवस्थित बनाउनेछौँ।’
उनका अनुसार विगतमा पनि विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो। यसपटक पनि लामो, मध्यम र छोटो दूरीका यात्रुलाई लक्षित गरी सहायता कक्ष सञ्चालन गरिनेछ।
सहायता कक्षबाट यात्रुले तोकिएभन्दा बढी भाडा लिएको, टिकट नदिएको वा एउटै सिटको टिकट एकभन्दा बढी यात्रुलाई बिक्री गरेको लगायतका गुनासो तत्काल सम्बोधन गरिने शाहले बताए।
‘बढी भाडा लिएको भए सम्बन्धित यात्रुलाई बोलाएर समस्या तत्काल समाधान गर्ने हिसाबले नागरिक यात्रु सहायता कक्ष स्थापना हुन्छ,’ उनले भने।
सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागका प्रतिनिधिलाई समेत सहभागी गराउने तयारी रहेको शाहले जानकारी दिए।
उनले यात्रु सहायता कक्षमा विभिन्न गन्तव्यको भाडादर स्पष्ट रूपमा उपलब्ध गराउन यातायात व्यवस्था विभागलाई आग्रह गरे।
उनका अनुसार टिकट बुकिङ खुला भएपछि टिकट काट्ने व्यक्तिको परिचयपत्र, सम्बन्धित यातायात समिति र टिकट काट्ने कर्मचारी आबद्ध संस्थाको विवरण स्पष्ट भए ट्राफिक प्रहरीलाई अनुगमन तथा कारबाहीमा सहज हुनेछ।
शाहले चाडपर्वका बेला सवारी दुर्घटना न्यूनीकरणका लागि रुटअनुसार सवारीसाधन सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए। विगतमा दशैंको समयमा अपनाइएको ‘क्यु–फ्री’ प्रणालीलाई पनि रुटअनुसार व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो।
झापा जाने बसलाई झापाकै रुटमा र पोखरा जाने बसलाई पोखराकै रुटमा सञ्चालन गर्दा चालकलाई सम्बन्धित सडक र त्यसको अवस्थाबारे जानकारी हुने भएकाले दुर्घटनाको जोखिम कम गर्न सकिने शाहले बताए।
उनले अपरिचित रुटमा सवारी चलाउँदा चालकलाई सडकको अवस्था, घुम्ती, खाल्डाखुल्डी लगायतका विषयमा पर्याप्त जानकारी नहुन सक्ने भएकाले दुर्घटनाको जोखिम बढ्ने बताए।
शाहले चाडपर्वका बेला सबैभन्दा बढी सवारी चाप हुने कलंकी–नागढुंगा सडकखण्डमा ट्राफिक व्यवस्थापनका लागि उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरिने जानकारी पनि दिए।
उनका अनुसार दशैं सुरु हुनुभन्दा करिब चार दिनअघिदेखि उक्त सडकखण्डमा सवारी चाप बढ्ने भएकाले त्यसलाई व्यवस्थापन गर्न प्रहरी जनशक्ति परिचालन गरिनेछ।









