धनुषा प्रहरीले हवाई फायर गरी लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। आइतबार बेलुका धनुषाको विदेह नगरपालिका–८ बफैबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा स्थानीय २२ वर्षीय अजय मण्डललाई पक्राउ गरेको हो। प्रहरीले मण्डलको साथबाट ब्राउन सुगर जस्तो देखिने करिब १४.४० ग्राम लागुऔषध बरामद गरेको जनाएको छ।
लागुऔषध किनबेच भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि ७र८ जनाले लाठी, भाटा लगायतले आक्रमण गरेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषा प्रहरीले जनाएको छ। सो क्रममा एक जना प्रहरीसमेत घाइते भएको छ।
पक्राउ परेका मण्डलमाथि आवश्यक अनुसन्धान भइरहेको छ भने अन्य ७ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।









