मनाङस्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई जना आरोहीको शव फेला परेको छ।

नेपाल राष्ट्रिय पर्वत आरोहण पथप्रदर्शक संघ (एनएनएमजीए) को खोज तथा उद्धार टोलीले सोमबार थप दुई जनाको शव निकालेको हो। आज फेला परेका मृतकहरूमा वीरेन्द्र गुरुङ र घनश्याम राई रहेका छन्।

यसअघि आइतबार सोही टोलीले सङ्खुवासभाका छेबी भोटे र पासाङ भोटेको शव फेला पारेको थियो। उनीहरूको शव काठमाडौं ल्याइएको छ। योसँगै हिम्लुङ हिमपहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा चार पुगेको छ।

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो जाँदा १६ नेपाली सम्पर्कबिहीन भएका थिए।

आइतबार विहानै गएको हिउँपहिरोका कारण हराइरहेकाहरूको हेलिकप्टरको परिचालन गरेर खोजी कार्य सुरु भइरहेको छ।

एनएनएमजीएको उद्धार टोलीले अहिले पनि हिमपहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेको छ। मौसम र परिस्थितिले साथ दिएमा टोलीले आज थप ३ देखि ४ घण्टा खोजी कार्यलाई निरन्तरता दिने संघले जनाएको छ।